साधारण सभाको निर्णयबमोजिम गर्ने सम्बन्धमा सहकारी संस्थाहरूलाई सूचना

प्रकाशित मिति: २०१९-०७-११

नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहकारी विभाग

साधारण सभाको निर्णयबमोजिम गर्ने सम्बन्धमा सहकारी संस्थाहरूलाई सूचना

सहकारी ऐन, २०७४ को दफा ३८ मा अन्य कुराका अतिरिक्त सहकारी संस्थाको आन्तरिक कार्यविधि पारित गर्ने, वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, पारिश्रमिकलगायतका सुविधा तोक्ने, बाह्य दायित्व स्वीकार गर्ने र सदस्यको दायित्व मिनाहा दिने कार्यहरू साधारण सभाले मात्र गर्न सक्ने व्यवस्था रहेको बेहोरा विदितै छ । तदनुसार विनियममा जे-जस्तो प्रावधान भए तापनि यथाशीघ्र देहायबमोजिम गर्नु, गराउनु हुन सम्बन्धित सहकारी संस्था, सङ्घ वा बैङ्कलाई सूचित गरिन्छ:

१. जुनसुकै आन्तरिक कार्यविधि साधारण सभाबाट पारित नभएको भए पारित गराएर मात्र लागू गर्ने;
२. वार्षिक कार्यक्रम तथा बजेट र सोमा हुने संशोधनसमेत साधारण सभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा लग्ने;
३.सञ्चालक समिति, लेखा समिति वा अन्य समिति वा उपसमितिका पदाधिकारीहरूका साथै व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक वा सुविधा साधारण सभाबाट तोकेर मात्र खर्च लेख्ने;
४. ऋण लिँदा वा अन्य तवरले बाह्य दायित्व सृजना गर्दा साधारण सभामा पेस गरी निर्णय भएबमोजिम गर्ने;
५. साधारण सभाको निर्णयविना सदस्यको दायित्व मिनाहा नदिने र
६. उपर्युक्तबमोजिम ऐनका प्रावधानसँग बाझिएका विनियमका प्रावधानहरू यथाशीघ्र संशोधनको व्यवस्था मिलाउने ।

अन्यथा कानुनबमोजिम कारबाई गरिने बेहोरासमेत जानकारी गराइन्छ ।

Website Views:
Web Counter